पुस १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र) सँग एकता नहुने बताएका छन् ।
मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै महासचिव चन्दले एकताको विषयलाई गम्भीरताका साथ नलिएसम्म कुनैपनि क्रान्तिकारी शक्तिसँग एकता नहुने बताएका हुन् ।
माओवादीसँगको पार्टी एकता सकियो भन्ने भ्रम फैल्याइएको भन्दै एकताका लागि गम्भीर रहेको खण्डमा पार्टी एकता हुने बताए । उनले नेकपाले लिएको एकताको पहलकदमीको आवश्यकतालाई अन्य कम्युनिष्ट पार्टीहरुले गम्भीरतापूर्वक नलिएको बताए ।
‘एकताको कुरा छ । बाहिरबाट हल्ला के भएको छ भने माओवादीसँगको एकता लर्बरियो रे, बन्द भयो रे, सिधियो रे भन्ने छ । त्यो कुरा होइन,’ महासचिव चन्दले भने, ‘हामीले भनेको कुरा के हो भने जुन गम्भीरतामा नेकपाले एकतालाई हेरेको छ र एकताको पहलकदमीको आवश्यकता ठानेको थियो, त्यो उचाइमा माओवादी केन्द्र वा अरु क्रान्तिकारी पार्टीबीचमा गम्भीर नभएसम्म हामीले सहकार्यलाई मोर्चामार्फत कायम राख्दै एउटा ध्रुवीकरणतर्फ लैजाने भनेका हौं ।’



















