१४ असार, कञ्चन ।
कञ्चन गाउँपालिकाको १८ औं गाउँसभाको चौथो बैठक हिजो शुक्रवार सम्पन्न भएको छ। उक्त बैठकले लेखा समिति र न्यायिक समितिको बार्षिक प्रतिवेदन र १ कञ्चन गाउँपालिकाको अर्थ सम्बन्धी आर्थिक विधेयक, २०८२ बहुमतले अनुमोदन गरेको छ।
निर्धारित समयभन्दा डेड घण्टा पछि शुरु भएको उक्त बैठकमा कञ्चन गाउँपालिकाको लेखा समितिका संयोजक हरिनारायण थारुद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदनमा ९६ लाख ८ हजार ३ सय ७० रुपैया बेरुजु देखिएको छ। महालेखा परिक्षकको प्रतिवेदन अनुसार ६३ करोड ४१ लाख ९४ हजार ३ सय ३१ को लेखा परीक्षण गरिएकोमा रु ९६ लाख ८ हजार ३ सय ७० रुपैया बेरुजु देखिएको हो। विगतका आर्थिक बर्षमा भएको भएको बेरुजुको समेत गर्दा हाल सम्म कञ्चनको बेरुजु ९ करोड ५१ लाख ५४ हजार ८ सय २४ रहेको समितिका संयोजक थारुले आफ्नो प्रतिवेदनमा उल्लेख गर्नु भएको छ।
पालिकाको अधिकांश बेरुजुका प्रकृतिहरु हेर्दा नियमित गर्नु पर्ने खालका बेरुजुहरुको मात्रा बढि भएको र स्थानीय तहहरु स्थापना भए पश्चात सुरुका दिनहरुमा स्थानीय ऐन, कानूनहरुको अपर्याप्तता हुनु, आर्थिक वर्षको अन्त्यमा योजना तथा कार्यक्रमहरु कार्यान्वयन हुँदा बिल भरपाई र कागजी प्रकृया पुन्ऱ्याउन पर्याप्त समय नहुनु, कानून भन्दा व्यवहारिक पक्षलाई बढी जोड दिइदा बेरुजुको मात्रा बढेको संयोजक चौधरीले औल्याउनु भएको छ।
यसैगरी संयोजक थारुले आ.व. २०८०/८१ मा रु ३ लाख २७ हजार ४ सय ९० रुपैया असुल गर्नु पर्ने, रु ७९ लाख ६४ हजार ६ सय ८० रुपैया मात्र अनियमित भएको, रु १३ लाख १६ हजार २ सय रुपैया मात्र प्रमाण कागजात नभएको बेरुजुको रुपमा रहेको उल्लेख गर्दै प्रारम्भिक प्रतिवेदनबाट देखिएको बेरुजु रु १ करोड १६ लाख ७५ हजार ५ सय ६८ प्रारम्भिक प्रतिवेदन उपर समपरीक्षण भएको रकम रु २० लाख ७९ हजार १ सय ९८ गरी आ.व.२०८०/८१ मा रु ९६ लाख ८ हजार ३ सय ७० बेरुजु कायम रहेको जानकारी गराउनु भएको थियो।
यसैगरी कञ्चन गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक मौसमी थापा मगरले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा न्यायिक समितिमा १ बर्षमा ७४ वटा उजुरी परेको बताउनु भयो। उक्त उजुरी मध्ये पति पत्नि सम्बन्धी उजुरी १२ वटा, लेनदेन सम्बन्धी ९ वटा, बाटो सम्बन्धी ५ वटा, जग्गा सम्बन्धी १९ वटा उजुरी उपर कार्वाही गर्न बांकी रहेको बताउनु भयो । यस्तै मेलमिलाप भएका १३ वटा, १५ वटा न्यायिक समितिबाट निरुपण भएका, दरपिठ १ वटा, प्रकृयामा रहेको ३ वटा, दुबै पक्षबाट निस्कृय भएका ६ वटा र मेलमिलापको प्रकृयाकालागि वडा रहेका ७ वटा रहेको न्यायिक समितिको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी पालिकाको १८ औं गाउँसभाको तेश्रो बैठकमा उपाध्यक्ष मौसमी थापा मगरबाट सभामा प्रस्तुत गर्नु भएको आ.व. २०८२/०८३ को विनियोजन बिधेयक २०८२ तथा आर्थिक विधेयक २०८२ समेत सर्बसम्मत पास भएको छ।
सभामा प्रस्तुत प्रतिवेदन र विधेयक माथी गाउँसभा सदस्य रुम बहादुर पुनले छलफलमा सहभागी हुदै गाउँसभा र विभिन्न बैठकहरुमा पटक पटक बिषय उठान गर्दा समेत कोठी सिंचाई योजना कहिलै प्राथमिकता पर्न नसक्नुको कारण सभाध्यक्ष समक्ष प्रश्न गर्नुभयो। यस्तै किसानलाई पशु सुत्केरी स्याहार भत्ता दिइदा गाइ पालक किसानहरुले पशु सुत्केरी स्याहार भत्ता प्राप्त गरे पनि बाच्छोलाई जंगलमा लगेर छोड्ने गरेको कारण किसानहरुले सास्ती खेप्नु परेको सभा सदस्य पुनले गुनासो गर्नुभयो।
यसैगरी जसले बजेट बनाउने र बजेटमाथी छलफल गरी अनुमोदन गर्ने हो तिनै गाउँसभा सदस्यहरुलाई कुन योजना कहा र कति छुट्टिएको हो भन्ने थाहा छैन तर बाहिर जनताले फलना योजनामा यति बजेट, उति बजेट परेको भन्दै चर्चा चल्नुले सभाको गरिमा घटाएको हो कि भन्दै सभासदस्य पुनले प्रति प्रश्न गर्नुभएको थियो।
यस्तै गाउँसभा सदस्य तथा वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेल र मिना बि.क.ले पनि सभामा प्रस्तुत प्रतिव्ेदन र बिधेयकमाथी छलफलमा सहभागी भएका थिए।



















