बाराको प्रसौनीमा रहेको पतञ्जलि आयुर्वेद प्रालिले नेपालमा वार्षिक २ अर्ब भन्दा बढीको व्यापार गर्दै आएको बताइएको छ । तर, पतञ्जलिबाट कृषकले कुनै फाइदा लिने वातावरण बन्न नसक्दा स्थानीयमा उत्साह देखिँदैन ।

पतञ्जलि आयुर्वेदको नेपालमा प्रसौनी गाउँपालिका वडा नं ३ मा एउटा मात्रै उद्योग सञ्चालनमा छ । यहीबाट उत्पादन भएको सामग्री देशभर पुग्ने गर्दछ । सो आयुर्वेद उद्योग गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो र पतञ्जलि आयुर्वेद लिमिटेड भारतको संयुक्त लगानी र प्राविधिक सहकार्यमा २०७३ मङ्सिर ९ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन भएको थियो ।
उद्योगले दन्त मन्जन, च्येबनप्रास, साबुन, सर्फ गोलभेँडाको सस, लगायत शृङ्गार र घरायसी प्रयोजनका एक दर्जन बढी सामग्री उत्पादन गर्दछ ।
पतञ्जलिले उत्पादन गरेको च्येबनप्रासका लागि आवश्यक अमला, हर्रो, केसर लगायत ४० प्रकारका जडीबुटी आवश्यक पर्दछ । ती सबै जडीबुटीहरू नेपालमा उत्पादन हुने भए पनि हरिद्वारबाट आउने गरेको हो ।
नेपालमा उत्पादन हुन सक्ने जडीबुटीहरू यही व्यवसायीक हिसाबले खेती गर्न सके स्थानीय कृषकहरूले पनि रोजगारी पाउन सक्ने पतञ्जलिका गुणस्तर हेर्ने शाखामा व्यवस्थापक अर्जुन न्यौपानेले बताए ।
‘हामीलाई कच्चा पदार्थ ठुलो परिणाममा आवश्यक पर्दछ, यदि उहाँहरूले गुणस्तरको मापदण्ड पुर्याउन सक्नुभयो भने उद्योगले स्थानीय किसानहरूसँग पनि खरिद गर्न सक्छ’ न्यौपानेले भने ‘यसका लागि निजी क्षेत्र र स्थानीय तहको समन्वयनमा यस्तो कामको सुरुवात गर्न सकिन्थ्यो तर अहिलेसम्म भएको छैन ।’
उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थहरू मध्ये बारा, पर्सा र आसपासका कृषकहरूलाई कागती, गोलभेँडा, घिउकुमारी, अमला र पहाडमा तेजपत्ता, हर्रो बर्रो, दालचिनी, लगायतका जडीबुटी उत्पादनमा जोड्न सके स्थानीय कृषकहरू पनि लाभान्वित हुने देखिन्छ ।
प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैशवालले पतञ्जलिले नेपालमा २ सय करोडको व्यापार गर्दा स्थानीय कृषकहरूले उद्योगबाट खासै फाइदा नपाएको बताए ।
‘उद्योगमा हाम्रो किसानले उत्पादन गरेको सामग्री प्रयोग नै हुँदैन, सबै ठेक्का प्रथाबाट खरिद हुन्छ, हाम्रो किसानहरूलाई खासै फाइदा छैन,’ गाउँपालिका अध्यक्ष जैशवालले भने, ‘हाम्रो पालिका भित्र उद्योग फस्टाओस् भनेर स्थानीय तहबाट लाग्ने करमा पनि उद्योगलाई धेरै सहुलियत दिएका छौँ ।’
यसअघि स्थानीयहरूले घिउ कुमारी र गोलभेँडा खेती गरेका थिए । तर, ठुलो परिणाममा कच्चा पदार्थ आवश्यक पर्ने भएकोले त्यो सफल हुन नसकेको गाउँपालिका अध्यक्ष जैशवालले बताए ।
उद्योगका अर्का व्यवस्थापक विपिन तिवारीले कच्चा पदार्थको गुणस्तर र एकै पटक ठुलो परिणाम सामग्री आवश्यक पर्ने भएकोले नेपाली कृषकलाई चाहेर पनि सहयोग गर्न नसकिएको बताए ।
‘नेपालमा कागती, गोलभेँडा, तेजपत्ता,अमला, हर्रो लगायत उत्पादन गर्न सकिन्छ तर एकै पटक ठुलो परिणाममा उत्पादन गर्नुपर्ने भएकोले यहाँ त्यति सम्भव देखिएन,’ तिवारीले भने, ‘एलोभेरा मात्रै एक पटकमा हामीलाई १० टन भन्दा धेरै आवश्यक पर्दछ, यहाँ त्यति सम्भव छैन ।’
२५ हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको पतञ्जलि आयुर्वेद प्रालिका बाराको प्रसौनीमा आफ्नो भवन छ । करिब एक दशकदेखि उद्योग सञ्चालनमा छ ।
केही दिनअघि पतञ्जलि आयुर्वेद प्रालि।को स्थलगत अनुगमन गरेका पूर्व मन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ नेपालमै उत्पादन गर्नका लागि स्थानीय कृषकहरूलाई तालिम दिन सकिने बताए । ‘कच्चा पदार्थ यही उत्पादन गर्न पाए यहाँका किसानहरू धेरै लाभान्वित हुने थिए, यसका लागि उद्योगले पहल गर्नुस् हामी सहयोग गर्न तयार छौँ,’ संघीय सांसद श्रेष्ठले भने ।


















