चैत १४ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालविरुद्ध मदिरा नीतिमा घोटाला प्रकरणमा सरकारी साक्षी बनेका व्यापारी सत्तारुढ भारतीय जनता पार्टीलाई चुनावमा पैसा दिने व्यक्ति रहेको खुलेको छ ।
हैदरवादका व्यापारी पी सरथ चन्द्र रेड्डी केजरिवालविरुद्ध सरकारी साक्षी बनेर चर्चामा छन् ।
रेड्डी स्वयंलाई इन्फोर्समेन्ट डाइरेक्टोरेट (ईडी) ले सन् २०२२ नोभेम्बर १० मा मुद्रा अपचलन मुद्दामा गिरफ्तार गरेको थियो । त्यसबखत रेड्डीले आम आदमी पार्टीलाई १०० करोड रुपैयाँ दिएको र त्यो पैसा केजरिवालको दलले गोवाको चुनावमा प्रयोग गरेको ईडीको जिकिर छ ।
ईडीको हिरासतमा करिब ६ महिना रहेका रेड्डीलाई दिल्लीको हाइकोर्टले स्वास्थ्यको कारण देखाउँदै सन् २०२३ मे ९ मा धरौटीमा रिहा गरेको थियो ।



















