चैत २०, बुटवल । विकास र समृद्धिको बाटोमा अगाडी बढेको बुटवल उपमहानगरपालिकाले पार्किङ व्यवस्थापनको दिर्घकालिन योजना अनुरुप बहुतले पार्किङ भवन निर्माणको योजना अगाडी बढाएको छ ।
बढ्दो जनघनत्व, बजार बिस्तार र सवारी चापका कारण बढ्दै गएको पार्किङ समस्याको समाधानकालागि उपमहानगरले लुम्बिनी बस टर्मिनल परिसरमा बहुतले पार्किङ भवन निर्माणको कार्य अगाडी बढाएको हो ।
त्यसकालागि बुटवल उपमहानगरपालिका र नगर बिकास कोषबीच लगानीका लागि गत साउनमै सम्झौता भएको छ । सम्झौता अनुरुप बुटवल उपमहानगरपालिका वडा नं. ९ स्थित लुम्बिनी बस टर्मिनल क्षेत्रमा बहुतला सहितको सुविधा सम्पन्न आधुनिक भवन निर्माण हुनेछ ।
नगरप्रमुख खेलराज पाण्डे र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । आयोजनाको लागत करिब ३० करोड ४० लाख अनुमान गरिएको छ । भवन निर्माणका लागि ७० प्रतिशत लगानी नगर विकास कोषको रहने छ । बाँकी ३० प्रतिशत बुटवल उपमहानरपालिकाले लगानी गर्ने छ ।

बस टर्मिनल परिसरको खाली जग्गामा बहुतले पार्किङ भवन निर्माणकालागि उपमहानगरले गत चैत ०८ गते नै सार्वजनिक सूचना जारी गरी टेण्डर आब्हान गरेको थियो । बहुतले पार्किङ भवन बनेपछि बुटवलको बजार क्षेत्रको सवारी पार्किङ सोही भवनमा गरिने भएकाले अव्यवस्थित पार्किङको समस्या दिर्घकालिन रुपमै समाधान हुने नगरप्रमुख पाण्डेयले बताउनु भयो ।
‘बुटवलमा जनघत्व बढदो छ,बजार र सार्वजनिक सवारीको चाप पनि बढ्दो छ,तर सार्वजनिक जग्गाको भने अभाव छ । जसका कारण बिगत देखि नै बजार र मुख्य सडक क्षेत्रमै सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ, बहुतले पार्किङ भवन बनेपछि यी समस्या समाधान हुनेछन’नगरप्रमुख पाण्डेयले भन्नुभयो ।
आफु निर्वाचित भएर आएपछि पार्किङको समस्या समाधानकालागि के गर्न सकिन्छ भन्ने सम्बन्धमा सरोकारवालासंगको अन्तरक्रिया, छलफल, बिज्ञका सुझाव सहित सम्भाब्यता अध्ययन गरेर योजना अगाडी बढाइएको उहाँले बताउनु भयो । प्रयाप्त अध्ययन अनुसन्धान गरेर मात्रै योजना अगाडी बढाइएकाले शहरको सौदर्यीकरण र सवारी दुर्घटना न्युनीकरणमा यसले महत्वपूर्ण भुमिका खेल्ने नगरप्रमुख पाण्डेयले बताउनु भयो । पार्किङका लागि भवन बनेपछि घर बाहिरको सडकमा गाडी राख्नेहरुले निश्चित शुल्क तिरेर पार्किङ भवनमा गाडी राख्न सक्ने भएकाले मुख्य तथा भित्री सडकमा अहिले भइरहेको पार्किङ समस्या हट्ने नगरप्रमुख पाण्डेयले बताउनु भयो ।
उपमहानगरपालिकाका प्रशासकीय अधिकृत मित्रमणी खनालले १५ असोज २०७९ मा पार्किङ भवन निर्माणका लागि परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभि सँग सम्झौता भइ प्रतिवेदन पेश गरेपछि लगानीका लागि नगर विकास कोषसँग सम्झौता भएको जानकारी दिनुभयो ।
नगर विकास कोषसंगको सम्झौता अनुरुप लगानीको टुंगो लागिसकेकाले अब बाँकी काम शुरु हुने उहाँले बताउनु भयो ।

बहुतले पार्किङ भवन सात तलाको बन्ने छ । जहाँ एकसाथ २ सय हलुका सवारी साधन पार्किङ गर्न सकिने छ । अत्याधुनिक प्रविधि सहितको पार्किङ भवनमा स्वचालित मेसिन मार्फत गाडी पार्किङको व्यवस्था गरीने उपमहानगरपालिकाका योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार सवारीधनीले सबैभन्दा तल्लो तलामा गाडी लगेर छाडेपछि स्वचालित मेशिन मार्फत खाली भएको स्थान पत्ता लगाइ गाडी लगेर पार्किङ गरीने छ । पार्किङमा राखीएको गाडी झिक्नु पर्दा सवारी धनीलाइ दिइएको कोड अनुसार पुनःगाडी तल्लो तलामा आउने योजना महाशाखाका निर्देशक श्रेष्ठले बताए ।
आधुनीक प्रविधिको प्रयोग गरी गाडी पार्किङको व्यवस्था गरिने भएकाले यो योजना प्रभावकारी बन्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो।
बुटवलमा सवारी चाँप बढ्दो छ भने खुल्ला ठाँउको अभाव छ । जसका कारण पुर्वपश्चिम र सिद्धार्थराजमार्ग दुवैमा पर्ने बुटवल खण्डको अति व्यस्त सडकको छेउ किनारमै सवारी साधन पार्किङ गर्ने गरिन्छ । जसले दुर्घटनाको जोखीम बढाएको छ । नगरको सौन्र्दयीकरणमा समेत त्यसले नराम्रो असर परीरहेको छ ।
मुख्य सडक तथा बजार क्षेत्रमै सवारी साधन पार्किङ गरीदा सवारी आवागमनमा समस्या पर्नुका साथै व्यापार व्याबसायमा समेत त्यसले नराम्रो असर पारीरहेको बताउनुहुन्छ बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल । अर्यालले बुटवल उपमहानगरले दिर्घकालिन रुपमा अब्यवस्थित पार्किङको समस्या समाधानका लागि गरेको कार्यको प्रसंशा गर्दै बहुतले भवन निर्माण पछि पार्किङको समस्या हट्ने बताउनु भयो । आयोजना समयमै सम्पन्न गर्ने गरी काम अगाडी बढाउनु पर्नेमा जोड दिदै उहाँले आवश्यक सहयोग र समन्वयकालागि बुटवल उद्योग बाणिज्य संघ तथा यहाँको निजी क्षेत्र तयार रहेको बताउनु भयो ।
अव्यवस्थित पार्किङका कारण सडक असुरक्षित बनीरहेका बेला बुटवल उपमहानगरले ल्याएको बहुतले पार्किङको अबधारणा बहुउपयोगी हुने बताउनुहुन्छ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन लुम्बिनी प्रदेश कार्यालयका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक हुम बहादुर थापा ।
बहुतले पार्किङ भवन निर्माण पछि ट्राफिक व्यवस्थापनमा सहज हुने डिएसपी थापाले बताउनु भयो । बुटलको ट्राफिक व्यवस्थापन संगै पार्किङ स्थल निर्माणका बिषयमा उपमहानगरपालिका सँग समन्वय र सहकार्य गरि अगाडी बढेको डिएसपी थापाले बताउनु भयो ।

पार्किङको समस्या समाधानकालागि बहुतले भवन निर्माण संगै उपमहानगरले प्रदेश स्तरीय हरियाली बसपार्क निर्माणको योजना पनि अगाडी बढाएको छ । बुटवलबाट लामो तथा छोटो दुरीका हरेक क्षेत्रका लागि गाडी छुट्छन । जसकालागि हालको बसपार्क साँघुरो भएकाले प्रदेशस्तरको हरियाली बसपार्क बनाउने योजना ल्याइएको नगरप्रमुख पाण्डेयले बताउनु भयो ।
बुटवल वडा नं.७ र ८ मा पर्ने धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गामा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनसँग सहमति प्राप्त भई आवश्यक प्रक्रिया अगाडि बढाएको नगरप्रमुख पाण्डेयले बताउनु भयो । कार्यान्वयनको चरणमा रहेका बहुतले पार्किङ भवन,प्रदेश सतरीय हरियोली बसपार्क निर्माण जस्ता दिर्घकालिन महत्वका योजनाहरु सम्पन्न हुँदा त्यसले बुटवलको मुहार फेरीने बताउँनुहुन्छ बुटवलका पुर्व मेयर पुनाराम पोख्रेल ।



















