२९ मंसिर, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाको ५ वटै वडाहरुमा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवाको शुभारम्भ भएको छ। जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम अन्तर्गत घरमै पुगेर स्वास्थ्य सेवा दिने उद्धेश्यका साथ घर घरमा स्वास्थ्य सेवा कार्यक्रम शुरु गरिएको हो।
कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अशक्त, असाहय र जेष्ठ नागरिकहरुको सेवा गर्नु सबैभन्दा ठूलो पुण्य कार्य भएको बताउनु भयो। घर घरमा पुगेर जेष्ठ नागरिकहरुको स्वास्थ्योपचार गरी उनिहरुको शारीरिक र मानसिक स्वास्थ्य अवस्थाबारे नियमित परिक्षण गराउन सके जेष्ठ नागरिकहरुको जीवनर्ला अझ बढी दिर्घ बनाउन सकिने उल्लेख गर्दै जेष्ठ नागरिकहरुको सम्मान र संरक्षणले ईतिहासको संरक्षण हुने अध्यक्ष ढकालले बताउनु भयो।
यस्तै वडा नं. १ मा घर घरमा स्वास्थय सेवा कार्यक्रमको शुभारम्भ गर्दै उपाध्यक्ष मौसमी थापाले जेष्ठ नागरिकहरुको सम्मान र स्वास्थ्य स्याहारले एक कालखण्ड पार गरिसकेका जेष्ठ नागरिकहरुको मनोवल उच्च बनाउदै दिर्घायु बनाउन उर्जा मिल्ने बिश्वास व्यक्त गर्नु भयो।
वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्गले जेष्ठ नागरिकहरु यो समाजको बलियो र जिउदो इईतिहास भएकोले उनिहरुको स्वास्थ्य हेरचाह गर्नु पालिकाको जिम्मेवारी भएको बताउनु भयो। यसैगरी वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले जेष्ठ नागरिक भनेका ठूलो बृक्षको मुख्य जरा भएकोले बृक्ष ढल्न नदिनका लागि जसरी जराको वरीपरी उकेरा लगाएर बलियो बनाउने गरिन्छ त्यसरी नै कञ्चनले पालिका भित्र रहेका जेष्ठ नागरिकलाई बृक्षको मुख्य जराको रुपमा लिएर घर घरमा स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत संरक्षण गर्ने अभियानमा लागेको बताउनु भयो।
यस्तै वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले जेष्ठ नागरिकहरुलाई घर घरमा पुगेर स्वास्थ्य परिक्षणले जेष्ठ नागरिकहरुको शारीरिक र मानसिक स्वास्थ्य अवस्थाबारे थाहा हुने र केही समस्या देखिएमा समयमै उपचार पाउने बिचार व्यक्त गर्नु भयो। वडा अध्यक्ष खत्रीले हाम्रो अवस्था पनि जेष्ठ नागरिकमै परिण त हुने भएकोले जेष्ठ नागरिकहरुको आदर सम्मान र हेरचाह गर्नु हरेक पारिवार सदस्यको जिम्मेवारी भएको बताउनु भयो।
यसैगरी वडा नं. ५ मा भएको शुभारम्भ भएको कार्यक्रममा वाड अध्यक्ष कुलप्रसाद पौडेलले घर घरमा स्वास्थ्य सेवा कार्यक्रमले उमेर र समयले जेष्ठ बनेका नागरिकहरुको समयमै स्वास्थ्य परिक्षण सेवा पुराउन सके जिवित ईतिहास बोकेका जेष्ठ नागरिकहरुको संरक्षण गर्नमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो।
यस्तै वडा नं. १ मा भएको कार्यक्रमको शुभारम्भ कार्यक्रमको अध्यक्षता गर्दै वडा नं. १ वडा अध्यक्ष हरिनारायण थारुले घर घरमा स्वास्थ्य सेवा कार्यक्रमले शारिरीक रुपमा स्वास्थ्य चौकी वा अस्पतालसम्म पुग्न नसक्ने जेष्ठ नागरिक शारिरीक अशक्तता भएका नागरिकहरुको घरमै पुगेर गरिने स्वास्थ्य परिक्षणबाट धेरै राहत मिल्ने बताउनु भयो। जेष्ठ तथा शारिरीक रुपमा अपाङ्गता भएका नागरिकहरुको घर घरमा पुगेर उनिहरुको रक्तचाप, मधुमेहको अवस्था, स्वास प्रश्वास, शारिरीक अवस्थाबारे परिक्षण हुने भएकोले जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षणमा घरका अभिभावकहरुले स्वास्थ्यकर्मीहरुलाई सहयोग र सहजिकरण गर्न पनि वडा अध्यक्ष थारुले आग्रह गर्नु भयो।
कञ्चनमा यस बर्ष करिब २ हजारको संख्याका जेष्ठ नागरिक रहेको र कम्तिमा बर्षको दुई पटक जेष्ठ नागरिकहरुको घरमा पुगेर स्वास्थ्य जाँच गरि उनिहरुको स्वास्थ्य अवस्थाबारे अभिलेखिकरण गरिने कञ्चन गाउँपालिकाका स्वास्थय शाखा प्रमुख रामप्रसाद गौतमले जानकारी दिनुभयो।
जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम अन्तर्गत संचालन हुने घर घरमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कञ्चनका ५ वटै वडामा रहेका स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका र जनप्रतिनीधि तथा टोल विकास संस्थाका प्रतिनीधिहरु एकसाथ परिचालन हुने रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज कर्णराज शर्माले जानकारी दिनु भयो।



















