२० पुस, धरान । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरानका मेयरको प्रशंसा गरेका छन् ।
१२३औं धरान स्थापना दिवसको अवसरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा काठमाडौंका मेयरलाई पनि बोलाइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बालेनले धरानका मेयर हर्क साम्पाङले सुरु गरेको श्रम संस्कृतिको प्रशंसा गरे ।
सरकारले पैसा देओस्, नदेओस् मतलब नगरी श्रम संस्कृति बसालेको उनले बताए । ‘लोप हुँदै गएको श्रम संस्कृति अगाडि बढाउनुभएको छ । आफैंले स्रोतसाधन जुटाएर त्यति टाढाबाट पानी ल्याउन सफल हुनुभएको छ’ उनले भने, ‘यो सबैले सिक्नुपर्छ, सबै स्थानीय सरकार, प्रदेश र संघ सरकारले सिक्नुपर्ने उदाहरण हो ।’
सांसदहरुले केही गर्न सक्दैनन्, मेयर भनेको कार्यकारी हो, उसले पो गर्न सक्छ भन्ने गरिएको बालेनले सुनाए । ‘उहाँले गर्नुभएको काम गर्न मेयर पनि हुनुपर्दैन, सांसद पनि हुनुपर्दैन । यो सांसदहरुले सिक्न जरुरी छ’ उनले अघि भने, देशको कुन सांसदलाई मेयर हर्क साम्पाङले गरेको काम अनुकरण गर्न कुन नियमले रोक्छ ?’



















