मूलत: नेपाली भान्सामा लसुनको प्रयोग स्वादकै लागि गरिन्छ । यद्यपि यो औषधीय गुणले पनि भरिपूर्ण मानिन्छ । त्यसैले त प्राचीनकालदेखि औषधिकै रुपमा लसुनको प्रयोग हुँदै आएको पाइन्छ । लसुनलाई संस्कृतमा ‘रसोन’ भनिन्छ । किनभने धर्तीमा हुने ६ रस (पिरो, तीतो, नुनिलो, टर्रो, अमिलो, गुलियो) मध्ये लसुनमा पाँच रस हुन्छ । लसुनमा ‘अमिलो’ रस मात्र हुँदैन ।
‘रस उन’ अर्थात् एक रस कम भएकाले यसलाई ‘रसोन’ भनिएको हो । आयुर्वेदमा लसुनलाई दुखाइ कम गर्ने द्रव्यको वर्गमा राखिएको छ ।
लसुनको इतिहास
चीन र इजिप्टमा हजारौं वर्षअघिदेखि लसुनको उपयोग हुँदै आएको इतिहास छ । ईसापूर्व १३२५ मा मिश्रका सम्राट तुतांकखेमानको चिहानमा लसुन राखिएको थियो, लासलाई सुरक्षित राख्ने हेतुले । त्यसताका मिश्रका बासिन्दाहरु कसैको मृत्युपछि चिहानमा यसैगरी लसुन राख्थे । यस्तो मान्यता थियो कि मान्छे मृत्युपछि जब अर्को लोकमा पुग्छन् उनलाई रोगव्याधिले नसताओस् ।
यसैगरी लामो यात्रामा निस्किने सिपाहीहरुले पनि लसुन बोक्ने गर्थे, ताकि कुनै समस्या भएमा औषधिको रुपमा प्रयोग गर्न सकियोस् ।
मानिसहरुको बसाइँसराइसँगै लसुनको प्रयोगले व्यापकता पाउँदै गयो । ईसापूर्व छैटौं शताब्दीमा लसुनले चीन र भारतमा प्रवेश पाइसकेको इतिहासमा उल्लेख छ । त्यसबेला यसलाई उपचारका लागि मात्र प्रयोग गरिन्थ्यो । त्यसपछि क्रमशः लसुनको प्रयोग उपचारमा मात्र नभएर दैनिक जीवनमा हुन थाल्यो ।
पौराणिक कथामा पनि लसुनको महत्व उल्लेख गरिएको छ । कथाअनुसार भगवान इन्द्रसँग अमृत खोसेर पृथ्वीमा ल्याउँदा खसेका अमृतको थोपाबाट लसुनको उत्पति भयो ।
यी कथाहरुबाट के अनुमान गर्न सकिन्छ भने सदियौंदेखि लसुनलाई औषधीय वनस्पतिको रुपमा प्रयोग गरिन्थ्यो ।
के हुन्छ लसुनमा ?
मेडिकल रिसर्चअनुसार काँचो लसुनमा मुख्यत: एलिसिन भन्ने यौगिक पाइन्छ । यो त्यही तत्व हो, जसमा एन्टिब्याक्टेरियल (जीवाणुनाशक) र एन्टिफंगल (ढुसीनाशक) गुण हुन्छ । साथै लसुनमा फस्फोरस, जिंक, पोटासियम र म्याग्नेसियम जस्ता लवण पदार्थ पनि भरपुर हुन्छ । सल्फर पदार्थ हुने भएकाले लसुनको गन्ध तिख्खर हुन्छ ।



















