ललितपुरको लुभुमा जन्मिएर जोरपाटीमा बस्ने उपन्यासकार नारायण थापा कल्पित (२०२६)को लेखनीको प्रारम्भ गरिमा मासिकमा कविता प्रकाशन २०५६ बाट भएको हो । उनका सिर्जना सरिता (कवितासंग्रह, २०६१), सिर्जना सरिता (कथासंग्रह, २०७६), आँखा स्वास्थ्य एक अध्ययन (अनुसन्धान, २०७६), चाँदनी (उपन्यास, २०८०) तथा उल्टो म (कथासंग्रह, २०८०) प्रकाशित छन् । थापाका विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा कथा, कविता, गीत, लेख आदि निरन्तर प्रकाशित भइरहेका छन् । उनका आधा दर्जनभन्दा बढी पाण्डुलिपि प्रकाशनको पर्खाइमा छन् ।
चाँदनी आख्यानात्मक कृति हो । आख्यान विश्वभरि सर्वाधिक रुचाइएको विधा पनि हो । एकै वाक्यमा भन्नुपर्दा चरित्र र घटनाको उद्देश्यपूर्ण संयोजन जसले पाठकको हृदयलाई झंकृत बनाउने सामर्थ्य राख्छ त्यो नै आख्यान हो । नेपाली साहित्यमा गद्याख्यानको झिल्को खोज्दै जाने हो भने शक्तिबल्लभ अर्यालको महाभारत विराटपर्व सम्वत् १८२७ सम्म पुग्नुपर्छ । तथापि यो औपन्यासिक कृति भने होइन ।



















