अनि अरूणा लामाका गीतहरू नि ?
अघि माथि नै उल्लेख गरेको गीतका हरफहरूबाट तपाईंले चिसो रात, वर्फिलो छाति, खुल्ला झ्याल… भित्र अरूणा लामाको गीत नै तत्व भनेर औंल्याइसक्नु भएको थियो हाेला। यो चिसो रातको घनत्व बढाउने यो भन्दा उपयुक्त तरिका अरू के नै हुन सक्छ र ?
म हरेक चिसा रातलाई यसप्रकार स्वागत गर्छु, अरूणा लामाका विरही स्वरहरूले। झ्यालबाट मेरो गुफामा प्रविष्ट रातप्रति कृतज्ञ हुन्छु – यो चिसो मनभित्र अझ चिस्यान थपिदिएकोमा।
‘ अब उदास मेरो जीवन कथा ‘ को कुरा ।
अलिकति पछाडि फर्किएर हेरेँ। अरू धेरैजनाको जस्तै मेरो मन पर्ने गायक नारायणगोपाल थिए। मेरो उक्त विश्वासलाई यो गीतले भने कम्पित तुल्याएको थियो । भैरवनाथ रिमालका अक्षरहरुमा अरूणा लामाका स्वर भरिदिएर नारायण गोपालले सङ्गीतद्वारा यतिबिघ्न सजाएका छन् कि उनलाई मनपर्ने गायक भन्दा पनि मनपर्ने संगीतकारको समूहमा स्थापित गर्न मन लाग्छ। यद्यपि यो मेरो गीतप्रतिको तीव्र अनुरागको कारणले पनि हुन सक्छ।
अरूणा लामा : अ ट्राजेडी क्वीन। मानौं की वहाँको कण्ठभित्र संसारभरिका जम्मै उदासी र विरह गाठिएर बसेको छ ।
अरूणा लामा, जसका गीतहरू जिन्दगी नामक सिनेमाका बहुसंख्यक पात्रहरूको प्रतिनिधि गीत बनेको छ।
यस्ता युग युगान्तर र त्यसपछि पनि बाँचिरहने गीतहरू कसरी गाउन सकिन्छ? संगीत सिक्नु, अभ्यासमा श्रेष्ठ हुनु मात्रले त अवश्य गाउन सकिँदैन। संगीत र मानिसको जीवन बीचको पार्थक्य मेटिएर दुवै कुरा एकाकार भएपछि मात्र यस्ता गीतहरूको भ्रूण तयार हुन्छन्। अझ त्यसमाथि विरह, उदासी जीवनका देन हुन्, जसलाई वाहिर निस्कनमा लागि उपयुक्त अवसर र माध्यम उपलब्ध हुनुपर्छ। र, त्यस्तो अवसर र माध्यम कला र सङ्गीतको आँगन बाहेक अन्यत्र कतै हुँदैन। अरूणा लामाका जीवनकथा र गीत सुनेर त्यस्तो अनुभव हुन्छ।
उफ्! ‘ उदास मेरो जीवनकथा ‘ सङ्ग भेटघाट त धेरैं पहिला भएको थियाे मेरो तर चिनजान भने अहिले भरखर मात्र भएको। अहिले भरखर। यो समय, जहाँ मलाई महसुस भइरहेको छ कि यो मेरो लागि जीवनभरिको सर्वोत्कृष्ट सङ्गीत हो अनि जीवनको बास्तविक अनुहार यही आवाज र धुनबाट मात्र प्रदर्शित हुन सक्छ, अरूबाट सम्भव छैन।
एकछिन है त! म तपाईंहरूलाई एउटा रहस्य भन्न गइरहेको छु। भेटघाट भएको यति धेरै समय अन्तराल पछिमात्र किन चिनजान भएको त? धेरै बर्ष अघि जब पहिलोपटक मैले यो गीत सुनेको थिए, मैले होसियारी पूर्वक सुनेको थिए, प्रत्येक शब्द र संगीतका मधुर लयहरूलाई केस्रा केस्रा छोडाउदै सुनेको थिएँ। तर यारो! अहिले म बेहोसीमा छु, नशामा छु, गीतको सुरुवात सङ्गै एउटा सघन मुर्छामा परेको छू। म बेहोसीमा गीत सुनिरहेको छु।
लाग्छ – मेरो ओठसम्म प्रवाहित भएका तर धरातलमा चुहिन नसकेका सम्पूर्ण छटपटाहट अभिव्यक्त हुँदै छ।
लाग्छ – मैले जीवनलाई चारैतिरबाट हेरिसकेको छु र पाँचौं दृष्टिको अन्वेषणमा छु।
बस्, चिनजान भइहाल्यो।
मानौँ, म कुनै सागर थिएँ। अकम्पित, शान्त, स्थिर। यो भन्दा पहिले मैले यो गीतलाई मानिसहरूको जङ्गलभित्र सुनेको थिएँ। तर मलाई थाहा थिएन, कुनै दिन यो गीत मानिसहरूको जङ्गलबाट उम्किएर मेरो प्रशान्त छातीमा तैरिन आउँछ भनेर। अहिले म गीतभित्र घोलिएको छु अनि आफ्नै ज्वारभाटाहरूद्वारा ग्रसित छु। आफ्नै लहरहरू उम्लिएर आफैंबाट भाग्न खोजे झैं गर्छन् फेरि मेरो क्षेत्रफलभित्र बाँधिन अभिशप्त छन्।
बस् चिनजान भइहाल्यो।
चिसो रातलाई अझ भयभीत पार्दै गीत बजिरहेको छ।



















