बङ्गलादेशमा आम चुनाव सम्मुखमा छ। अब केही पाइला हिंडेपछि देश ‘चुनाव-चोक’ मा पुग्नेछ । त्यसैले यहाँका चोक, सडक, गल्ली र भित्ताहरू झण्डा, पर्चा, पम्प्लेटले भरिभराउ छन् । बिहेमण्डपमा सिंगारिएकी बेहुली जस्तै छ- रंगपुर। जताततै कागजको जंगल देख्न सकिन्छ । नेताहरू यति ‘महा-चतुर’ छन् कि उनीहरू जनतालाई सपना पनि कागजमा बाँड्छन् । आश्वासन गीतबाट दिन्छन् । यो देश–विदेश सबैतिरको नियति हो ।
मेरा गाउँको भाषामा डिसेम्बर सकिन ‘एक सल्ली बेल’ (केही दूरी) छ । डिसेम्बरले चिसोसँग अंकमाल गरेको छ । डिसेम्बर र चिसो दुवै ‘जनवरी’लाई स्वागत गर्ने तयारीमा छन् । त्यसपछि चिसो र जनवरी आधा-बाटो सँगै हिंड्नेछन् । अनि यो शृङ्खलाबाट डिसेम्बर बिदाइको हात हल्लाउँदै छुट्टी जानेछ ।



















